सशस्त्रको तथ्याङ्क- विपद्का घटनाबाट दुई दिनमा ४० जनाको मृत्यु, ११ बेपत्ता

सशस्त्रको तथ्याङ्क- विपद्का घटनाबाट दुई दिनमा ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं । पछिल्ला दुई दिनयता देशभर विभिन्न विपद्का घटनामा परी ४० जनाले ज्यान गुमाएका छन्। बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनाका घटनामा १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

विपद्का घटनामा ११ जना बेपत्ता भएका छन्। सबैभन्दा बढी क्षति इलाममा पुगेको छ, जहाँ बाढीपहिरोका कारण २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु पुष्टि भएको छ।

यसैगरी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौंमा एक जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङ लागी आठ जना घाइते भएका छन्।

पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु र छ जना घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।