

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी हावाको प्रभावका कारण हाल देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि अधिकांश भू–भागमा बदली रहनेछ र विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ ।
महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा सामान्यतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
साँझ र राति पनि देशका पहाडी भू–भागमा साधारणतया बदली रहने र कोशी, मधेस तथा बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाले नदी–नालाको सतह बढ्न सक्ने भएकाले तटीय र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।