

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा सरकारको सर्वोपरी प्राथमिकता भएको बताएकी छिन्। लगातारको वर्षा र बाढी–पहिरो, डुबान तथा कटानको उच्च जोखिम बढिरहेको अवस्थामा उनले देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै सबैलाई सतर्क रहन र आवश्यक सहयोग लिन अप्ठेरो नमान्न आग्रह गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले सन्देशमा भनेकी छिन्, “कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिनुहोस्। तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्। तपाईं यसमा एक्लो हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्।”
उनले बाढी, पहिरो, डुबान र कटानको जोखिम अझै बढ्ने क्रममा रहेको जानकारी दिँदै सबै सरकारी निकायहरू उद्धार र राहतका लागि उच्च मनोबलसहित पूर्ण तयारीमा रहेको स्पष्ट पारिन्।
प्रधानमन्त्रीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन तथा अन्य सेवादायी निकायहरू आपतकालिन सेवामा २४ सै घण्टा उपलब्ध छन्। साथै, महत्वपूर्ण राजमार्ग र पूर्वाधारको सक्रिय निगरानी भइरहेको उनले जानकारी दिइन्।
उनले नागरिकलाई सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्न आग्रह गर्दै भनेकी छिन्, “तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्।”