बर्दीबासमा यात्रु बस दुर्घटना, दुईको मृत्यु २६ घाइते

बर्दीबासमा यात्रु बस दुर्घटना, दुईको मृत्यु २६ घाइते

बर्दीबास: बर्दीबास-१० खयरमारामा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ महिलासहित २६ जना घाइते भएका छन्। घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका चिकित्सकका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ।

जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार बसको ठक्करबाट खयरमारा–१० का ६५ वर्षीय पैदलयात्री चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै बसमा सवार ईश्वरपुर–१२ का १० वर्षीय प्रमिस खड्काको उपचारका क्रममा शुभ स्वस्तिक अस्पतालमै मृत्यु भएको छ। अस्पताल प्रमुख डा. प्रदीप कार्कीका अनुसार बालक खड्काको टाउकोमा गहिरो चोट लागेको थियो।

ना ६ ख १४६४ नम्बरको यात्रु बस खयरमाराबाट काठमाडौँतर्फ जाँदै गर्दा लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण स्पष्ट नभए पनि प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्छ। बसका चालक र सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।