

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा ३ रनले पराजित भएको छ।
कुआलालम्पुरस्थित वायुमास ओभलमा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा ७ रन आवश्यक परेको अवस्थामा कविता जोशी र राजमती ऐरीले क्रिज सम्हाले पनि नेपाल ३ रनले हार स्वीकार्न बाध्य भयो।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन योगदान गरिन्। सम्झना खड्काले १८, कप्तान इन्दु बर्माले १२ र कविता जोशीले अविजित १३ रन जोडेकी थिइन्।
मलेसियाकी नुर दानिया स्यादाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १० रन खर्चेर ३ विकेट हात पारिन्। कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २–२ विकेट लिए।
यसअघि मलेसियाका लागि कप्तान विनिफ्रेडले २७ रन, अइना हमिजाले २६ तथा मास एलिसाले २५ रनको योगदान गरे। नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिइन्।
शृंखलाको दोस्रो खेल शनिबार हुने तय भएको छ।