पानी र बिजुली संकटविरुद्धको जनआन्दोलनपछि मादागास्करमा सरकार विघटन

पानी र बिजुली संकटविरुद्धको जनआन्दोलनपछि मादागास्करमा सरकार विघटन

काठमाडौं । पानी र बिजुली आपूर्तिमा भइरहेको कटौतीविरुद्ध युवाको नेतृत्वमा उत्रिएको जनआन्दोलनपछि मादागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले सरकार विघटन गरेका छन् ।

सोमबार राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा उनले भने, “यदि सरकारका सदस्यले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन् भने हामी स्वीकार गर्छौँ र त्यसका लागि क्षमा माग्छौँ।”

‘जेनजी’ नाम दिइएको आन्दोलन अन्तर्गत हजारौँ युवा गत बिहीबारदेखि ‘हामी बाँच्न चाहन्छौँ, जिउँदो मात्र होइन’ भन्ने नारासहित सडकमा उत्रिएका थिए ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको अनावश्यक बल प्रयोगको निन्दा गरेका छन् । उनका अनुसार हालसम्म कम्तीमा २२ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन् । तर, मादागास्करको परराष्ट्र मन्त्रालयले यो तथ्यांकलाई अस्वीकार गर्दै “गलत सूचना वा अफवाहमा आधारित” भएको बताएको छ ।

विरोध प्रदर्शन राजधानी अन्तानानारिभोबाट सुरु भएर अहिले आठ सहरमा फैलिएको छ । हिंसा र लुटपाट बढेपछि अन्तानानारिभोमा साँझदेखि बिहानसम्म कर्फ्यु लगाइएको थियो । भीडलाई तितरबितर पार्न प्रहरीले रबरको गोली र अश्रुग्यास प्रयोग गरेको थियो ।

गत हप्ता राष्ट्रपतिले काम राम्ररी गर्न नसकेको भन्दै ऊर्जामन्त्रीलाई पदमुक्त गरेका थिए । तर, प्रदर्शनकारीले राष्ट्रपति र बाँकी मन्त्रीले समेत राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

राजोएलिनाले सोमबार पुनः सडकमा उत्रिएका हजारौँ जनतालाई सम्बोधन गर्दै भने, “म पानी र बिजुली कटौतीले उत्पन्न गरेका पीडा र कठिनाइलाई बुझ्छु।” उनले प्रधानमन्त्री र मन्त्रीपरिषद् विघटन भएको घोषणा गर्दै तीन दिनभित्र नयाँ प्रधानमन्त्रीका लागि आवेदन आह्वान गर्ने जानकारी दिएका छन् । साथै, उनले युवाहरूसँग संवाद गर्ने तयारी रहेको बताए ।

सन् १९६० मा स्वतन्त्रता पाएयता मादागास्करमा पटक–पटक जनआन्दोलन र विद्रोह भएका छन् । सन् २००९ को आन्दोलनकै परिणामस्वरूप तत्कालीन राष्ट्रपति मार्क राभालोमानाना पदत्याग गर्न बाध्य भएका थिए र राजोएलिना सत्तामा आएका थिए ।

हाल भइरहेको आन्दोलन सन् २०२३ मा तेस्रोपटक निर्वाचित भएपछि राजोएलिनाले सामना गर्नुपरेको सबैभन्दा ठूलो राजनीतिक चुनौतीका रूपमा देखिएको छ ।