नेपाल बिमा प्राधिकरणको नयाँ अध्यक्षमा जनकराज शर्मा नियुक्त, अर्थमन्त्रीले गराए शपथ

नेपाल बिमा प्राधिकरणको नयाँ अध्यक्षमा जनकराज शर्मा नियुक्त, अर्थमन्त्रीले गराए शपथ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अध्यक्ष शर्माले शपथ ग्रहण गरेका हुन्। उनी हाल नेपाल सरकारका सहसचिव हुन्।

मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयअनुसार शर्मा नियुक्त भएका हुन् र उनले आजैदेखि कार्यभार सम्हाल्ने मन्त्रालयले जनाएको छ।

यसअघि शरद ओझा अध्यक्ष नियुक्त भएका थिए, तर अनुभव सम्बन्धी फर्जी कागजात बुझाएको आरोपपछि सरकारले न्यायिक समिति बनाएर छानबिन गरेको थियो। समितिले प्रतिवेदनमा ओझाको योग्यता नपुग्ने जनाएको थियो। छानबिनपछि ओझा निलम्बनमा परेका थिए र पछि निवर्तमान सरकारले उनलाई बर्खास्त गरेको थियो।

त्यसपछि अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको थियो, तर सर्वोच्च अदालतको आदेशअनुसार ओझा पुन: प्राधिकरणमा फर्किएका थिए। सरकारले उनलाई हाजिर नगराउन निर्देशन दिँदै नयाँ अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढाएको थियो।