आज दशैं नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

आज दशैं नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा भव्य रूपमा मनाइँदैछ।

घटस्थापना पछि सुरु हुने नवरात्रमा देवीका नौ रूपको पूजा गर्ने परम्परा अनुसार आज पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको विशेष आराधना गरिएको हो।

धार्मिक विश्वासअनुसार चन्द्रघण्टाको पूजा–आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता र विनम्रता उत्पन्न हुन्छ। देवीको शिरमा अर्धचन्द्रको आभूषण हुन्छ, जसको आकार घण्ट जस्तो देखिने भएकाले उनलाई चन्द्रघण्टा भनिएको धर्मग्रन्थहरूमा उल्लेख छ। श्रीमददेवीभागवत लगायतका ग्रन्थमा क्रोध, हिंसा र आसुरी प्रवृत्तिको नाश तथा सज्जनको रक्षा गर्न देवी अवतरित भएको वर्णन पाइन्छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीलगायतका मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना र दाङको अम्बिकेश्वरी शक्तिपीठमा पनि भक्तजनहरूको घुइँचो देखिएको छ।