नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अनिश्चित बनेको छ । मंगलबार दिउँसो करिब ५ बजेतिर तुइनखोलामा ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।

भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १ बजेदेखि नै ढुंगासहित सुख्खा पहिरो खसिरहेकाले सडक बन्द भएको थियो। तर बेलुकी ५ बजेतिर अघिल्ला दिन झैँ झनै ठूलो पहिरो खस्दा बाटो खोल्ने सम्भावना अझै टाढिएको उनले बताए।

यसअघि गत शुक्रबार साँझ त्यही स्थानमा पहिरो खस्दा ४५ घण्टापछि मात्रै आइतबार दिउँसो एकतर्फी सडक सञ्चालनमा आएको थियो। सोमबार साँझदेखि दुईतर्फी आवतजावत खुले पनि माथिबाट बेलाबेला ढुंगा र सुख्खा पहिरो खसिरहँदा जोखिम कायम नै थियो।

‘आज फेरि ठूलो पहिरो खस्दा अब सडक कहिले खुल्छ भन्ने निश्चित छैन,’ आचार्यले भने।