कुलमान घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक निर्माण प्रगतिमा स्थलगत अनुगमन

कुलमान घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक निर्माण प्रगतिमा स्थलगत अनुगमन

काठमाडौ‌ं: ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको निर्माण प्रगतिबारे स्थलगत जानकारी लिएका छन्।

अनुगमनका क्रममा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरे। उनले चाडपर्वको समयमा सडकका खाल्डाखुल्डी तुरुन्त मर्मत गरी यातायात आवागमन सहज बनाउन, आवश्यक निर्णय तत्काल लिन, जनशक्ति र उपकरण थप गरेर निर्माण कार्य पूर्ण परिचालन गर्न, तथा चालू आर्थिक वर्षभित्र सडक विस्तार सम्पन्न गर्न निर्देशन दिएका छन्।

सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ।

यसअन्तर्गत:

  • सूर्यविनायक–साँगा (८.३ किमी) खण्डमा ३९% भौतिक प्रगति

  • साँगा–धुलिखेल (७.५ किमी) खण्डमा ५१% भौतिक प्रगति

आयोजनाको समग्र भौतिक प्रगति ४५% छ। टेवा पर्खाल तथा नाली निर्माणको ८०% काम सकिएको छ भने करिब १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ।

तर, सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या, बजेटको अभावजस्ता कारणले निर्माण प्रभावित भएको छ। मन्त्री घिसिङले बजेटको अभाव हुन नदिने आश्वासन दिएका छन्। महानिर्देशक विजय जैशीका अनुसार चालू आर्थिक वर्षका लागि आयोजनाका लागि करिब ३ अर्ब आवश्यक रहेकोमा अहिलेसम्म ५० करोड मात्र विनियोजन गरिएको छ।