फेसबुक, एक्स, युट्युब एकैपटक बन्द गर्दा आमनागरिकमा गम्भीर असर: क्यान महासंघ

फेसबुक, एक्स, युट्युब एकैपटक बन्द गर्दा आमनागरिकमा गम्भीर असर: क्यान महासंघ

काठमाडाैं। सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको निर्णयप्रति समर्थन जनाएको छ। तर, महासंघले महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।

महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जाललाई दर्ता प्रक्रियामा ल्याउने निर्णय प्रयोगकर्ताको सुरक्षा, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्ने भन्दै सकारात्मक मान्न सकिने बताइन्। तर उनले फेसबुक, एक्स, युट्युबजस्ता प्लेटफर्महरू रोकिँदा नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम बढ्ने उल्लेख गर्दै यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउन आग्रह गरिन्।

महासंघका अनुसार नेपालका करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन्। त्यस्तै सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आम्दानी गर्ने ठूलो सङ्ख्याका प्रयोगकर्ताको रोजगारी गुम्ने खतरा देखिएको छ। विदेशमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्न प्रयोग गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने समेत महासंघले जनाएको छ।

महासंघले स्पष्ट कानुनी ढाँचा तयार गरी नेपालमा सम्पर्क बिन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने हो भने मात्र दीर्घकालीन समाधान सम्भव हुने बताएको छ। महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भीपीएन र ओपन डीएनएसको प्रयोग बढेर साइबर सुरक्षामा गम्भीर चुनौती आउने चेतावनी दिएका छन्।

क्यान महासंघले सन्तुलित नियमनमार्फत सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिने भन्दै सरकारसँग प्राविधिक सहयोग, अन्तर्राष्ट्रिय अभ्यास साझा गर्ने र निरन्तर संवाद गर्ने प्रतिबद्धता जनाएको छ।

यसैबीच, सरकारको तोकिएको समयसीमाभित्र दर्ता प्रक्रिया पूरा नगरेको भन्दै गत बिहीबारदेखि फेसबुक, एक्स, युट्युबसहित २६ सामाजिक सञ्जाल नेपालमा बन्द गरिएका छन्। यीमध्ये हाम्रो पात्रो दर्ता प्रक्रियामा आइसकेको र एक्सले पनि सम्पर्क गरेको सरकारको भनाइ छ।