अब विदेशी पर्यटक दर्ता–अनुगमन विद्युतीय प्रणालीमार्फत

अब विदेशी पर्यटक दर्ता–अनुगमन विद्युतीय प्रणालीमार्फत

काठमाडौं । अब नेपाल आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन प्रक्रिया विद्युतीय प्रणालीमार्फत हुने भएको छ।

अध्यागमन विभागले सोमबार निर्णय गर्दै नयाँ प्रणाली कार्यान्वयन गर्न लागेको जानकारी दिएको छ। विभागका अनुसार यस प्रणालीले विदेशी नागरिकको सुरक्षा, अपराध नियन्त्रण, सूचनामा सहज पहुँच र पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछ।

पहिलो चरणमा १ असोजदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटेलमा अनिवार्य लागू हुनेछ। दोस्रो चरणमा भने १ मंसिरदेखि सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी तथा मनी एक्स्चेन्जसम्म विस्तार गरिनेछ।

त्यसपछि सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा समेत यो प्रणाली लागू गरिने विभागले जनाएको छ।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, “यस प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिको अभिलेख व्यवस्थित हुनेछ। आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चित गर्न सजिलो हुनेछ।”

यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने र पर्यटन क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित बनाउन योगदान पुर्‍याउने अपेक्षा लिइएको छ।

विभागले सबै विदेशी नागरिकलाई सेवा दिने सार्वजनिक तथा निजी संस्थालाई अनिवार्य रूपमा प्रणालीमा आवद्ध हुन आग्रह गरेको छ। साथै विभागको वेबसाइटमार्फत प्रणालीमा कसरी आवद्ध हुने भन्ने प्रक्रियाबारे जानकारीसमेत उपलब्ध गराइएको छ।