२० करोड वर्ष पुरानो ‘रूख छेपारो’ जीवाश्म भारतमा फेला

२० करोड वर्ष पुरानो ‘रूख छेपारो’ जीवाश्म भारतमा फेला

काठमाडौं । भारतको राजस्थान, जैसलमेर जिल्लामा करिब २० करोड वर्ष पुरानो फाइटोसौर (रूख छेपारो) को जीवाश्म फेला परेको छ।

वैज्ञानिकहरूको भनाइअनुसार यो जीवाश्म डायनासोरको युग भन्दा पनि पुरानो हो। करिब १.५ देखि २ मिटर लम्बाइको यो प्रजाति ट्राइसिक काल (२५१–२०४ मिलियन वर्ष अघि) मा नदी र जंगल आसपास बस्ने गर्थ्यो।

जयनारायण व्यास विश्वविद्यालय, जोधपुरका डीन नारायणदास इन्खिया र वरिष्ठ भूजल वैज्ञानिक डा. परिहारको टोलीले उक्त जीवाश्मको अध्ययन गरिरहेको छ। हाल कंकाल भेटिएको मेघा गाउँको क्षेत्रलाई बार लगाएर संरक्षण गरिएको छ।

डा. परिहारका अनुसार, यो फाइटोसौर प्रजाति गोहीजस्तै देखिने प्राचीन सरीसृप हो, जुन पर्मियन–ट्राइसिक विलुप्ति (२५१ मिलियन वर्ष अघि) पछि देखा परेको पहिलो सरीसृपहरूमध्ये एक हो।

यसअघि पनि जैसलमेर र आसपासका क्षेत्रमा डायनासोरका पंजाका निशान र जीवाश्म, ढुङ्गामा परिणत प्राचीन रूख तथा अन्य जीवाश्महरू भेटिइसकेका छन्। त्यसैले यो क्षेत्रलाई ‘डाइनासोर गाउँ’ भनेर पनि चिनिन्छ।