

काठमाडौं । प्रविधिको प्रयोग अब मनोरञ्जन क्षेत्रमा समेत चाखलाग्दो ढंगले हुँदै गएको छ। यसैक्रममा चीनको हाङ्जाओ सहरमा पहिलोपटक रोबोटहरूबीच रोमाञ्चक बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ, जसमा ‘एआई स्ट्राटेजिष्ट’ नामक टिम विजयी बनेको छ।
युनिटी कम्पनीले आफ्नै नयाँ कारखाना क्याम्पसमा आयोजना गरेको ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ नामक प्रतियोगितामा चार फरक रोबोटहरू—एआई स्ट्राटेजिष्ट, सिल्क आर्टिसन, आर्मर्ड मुलान र इनर्जी गार्डियन—बीच प्रतिस्पर्धा भएको हो।
यस्ता रोबोटहरू पूर्ण स्वचालित नभई मानिसद्वारा रिमोटमार्फत नियन्त्रण गरिन्थे। तीन राउण्डमा विभाजित म्याचमा हरेक राउण्ड दुई मिनेटको थियो। नियमअनुसार हातको प्रहारमा एक अंक र खुट्टाको प्रहारमा तीन अंक दिइन्थ्यो। लडेको अवस्थामा ८ सेकेन्डभित्र उठ्नुपर्ने प्रावधान थियो।
एआई स्ट्राटेजिष्टले पहिलो खेलमै सिल्क आर्टिसनलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। फाइनलमा इनर्जी गार्डियनलाई पनि तीनै राउण्डमा पराजित गर्दै उपाधि जित्न सफल भयो।
चीनको यस अनौठो र प्रविधिमैत्री प्रतिस्पर्धाले अहिले विश्वभरको ध्यान तानेको छ, र रोबोटिक्स तथा एआई प्रयोगको नयाँ सम्भावनातर्फ संकेत गरेको छ।