तमन्ना भाटियालाई ब्रान्ड एम्बेसडर बनाउँदा कर्नाटक सरकार विवादमा 

तमन्ना भाटियालाई ब्रान्ड एम्बेसडर बनाउँदा कर्नाटक सरकार विवादमा 

मुम्बई । बलिउड तथा दक्षिण भारतीय फिल्म अभिनेत्री तमन्ना भाटियालाई मैसूर स्यान्डल सोपको ब्रान्ड एम्बेसडर नियुक्त गरेपछि कर्नाटक सरकार चर्को विवादमा तानिएको छ। स्थानीय कलाकारलाई बेवास्ता गर्दै बाहिरी राज्यकी अभिनेत्रीलाई अघि सारेको भन्दै सरकार र उद्योग मन्त्री एमबी पाटिलको कडा आलोचना भइरहेको छ।

विपक्षी दलहरू मात्र होइन, सर्वसाधारणले पनि सामाजिक सञ्जालमार्फत सरकारको निर्णयको विरोध गरिरहेका छन्। मन्त्री पाटिलमाथि स्थानीय प्रतिभालाई बेवास्ता गरेको आरोप लाग्दै राजीनामासमेत माग गरिएको छ।

विवादको केन्द्र बनेको यो निर्णयबारे कर्नाटक सरकारले बिहीबार औपचारिक घोषणा गरेको थियो। सो घोषणा लगत्तै तमन्नालाई ब्रान्ड एम्बेसडर बनाएको खबर सामाजिक सञ्जालमा भाइरल बन्यो। मनी कन्ट्रोलको रिपोर्ट अनुसार तमन्नाले दुई वर्षसम्म मैसूर स्यान्डल ब्रान्डको प्रवद्र्धन गर्नेछिन्। उनी यस साबुनको प्रचार गर्ने दोस्रो गैर-स्थानीय सेलिब्रेटी हुन्, जसअघि सन् २००६ मा एमएस धोनीले ब्रान्ड प्रवर्द्धन गरेका थिए।

केएसडिएल (कर्नाटक सोप एन्ड डिटर्जेन्ट लिमिटेड) ले तमन्नालाई ६.२ करोड रुपैयाँ प्रत्यक्ष भुक्तानी गर्ने सार्वजनिक खरिद ऐनअन्तर्गतको विशेष व्यवस्था गरिएको छ। यस कम्पनीमा कर्नाटक सरकारको स्वामित्व छ।

यस कदमले “कर्नाटकको गौरव” भएको ब्रान्डमा स्थानीय कलाकारलाई बेवास्ता गरेको भन्दै जनताको आक्रोश चुलिएको छ। आलोचकहरूको प्रश्न छ — “के कर्नाटकमा आफ्नै कलाकारहरू छैनन्?”।

तर उद्योग मन्त्री एमबी पाटिलले भने आफूहरू क्षेत्रीयता वा राजनीति नभई ब्रान्ड भ्यालुका आधारमा तमन्नालाई छानेको स्पष्ट पार्दै, युवामाझ ब्रान्डको पुनः पहिचान निर्माण गर्न तमन्नाको लोकप्रियता उपयोग गर्न खोजिएको बताए।

यद्यपि, भाजपा र जेडीएस नेताहरूले मन्त्रीमाथि सरकारी सम्पत्ति प्रयोग गरी व्यक्तिगत प्रचार गरेको आरोप लगाएका छन्। उनीहरू भन्छन्, “स्थानीय कलाकारको अपमान गर्दै बाहिरी सेलिब्रेटीलाई अघि सार्नु कर्नाटकको पहिचानमाथि नै चोट हो।”

यो विवादले कर्नाटक सरकारको छवि चुनौतीमा पारेको छ, जसले आगामी दिनमा स्थानीय भावना र संस्कृतिलाई कसरी सम्बोधन गर्छ भन्ने चासो थपिएको छ।