

काठमाडौं । विश्वकै प्रमुख प्रविधि कम्पनी माइक्रोसफ्टले यस वर्ष विश्वभरबाट झण्डै ६ हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो कटौती कम्पनीको हालसम्मकै दोस्रो सबैभन्दा ठूलो कर्मचारी छँटाई हो।
मंगलबार जारी गरेको सूचनामा माइक्रोसफ्टले विश्वभरका कुल कर्मचारीको ३ प्रतिशत कटौती गर्ने जनाएको हो। यो निर्णय जुनियरदेखि वरिष्ठ व्यवस्थापन तहसम्म र सबै भौगोलिक क्षेत्रमा लागू हुनेछ।
कम्पनीका प्रवक्ताले भने, “हामी परिवर्तनशील बजारमा अझ प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न सक्ने गरी संगठनात्मक संरचना परिवर्तन गरिरहेका छौं।”
सन् २०२४ को जुनसम्म माइक्रोसफ्टमा करिब २ लाख २८ हजार कर्मचारी कार्यरत थिए। कटौतीसँगै झण्डै ६ हजार ८०० जनाले रोजगारी गुमाउने अनुमान गरिएको छ। सन् २०२३ मा गरिएको १० हजारको कटौतीपछि यो दोस्रो ठूलो छँटाई हो।
माइक्रोसफ्टले यो छँटाई कार्यसम्पादनमा आधारित नभएको स्पष्ट गर्दै, कर्मचारीहरूको क्षमताका कारण होइन, संगठन सुधारको उद्देश्यले गरिएको निर्णय भएको जनाएको छ। कम्पनीले व्यवस्थापनको तह घटाएर कामको प्रक्रिया सरल बनाउन खोजेको छ।
रोचक त के छ भने, कम्पनीले अप्रिल २०२४ मा सार्वजनिक गरेको त्रैमासिक वित्तीय नतिजा अपेक्षाभन्दा राम्रो देखिएको थियो। शेयर मूल्य समेत बढ्दै गएको अवस्थामा भएको कटौतीले माइक्रोसफ्ट स्रोत व्यवस्थापनमा अझ प्रभावकारी बन्ने रणनीतिमा देखिएको छ।
गत सोमबार माइक्रोसफ्टको शेयर मूल्य ४४९.२६ अमेरिकी डलरमा पुगेर बन्द भएको थियो, जुन यस वर्षको उच्चतम मूल्य हो। यसअघि जुलाई २०२३ मा कम्पनीको शेयर रेकर्ड ४६७.५६ डलरसम्म पुगेको थियो।