परम्परागत फोन कलको युग समाप्त हुँदै: इन्टरनेटमार्फत कल र मेसेजिङको बढ्दो प्रभाव

परम्परागत फोन कलको युग समाप्त हुँदै: इन्टरनेटमार्फत कल र मेसेजिङको बढ्दो प्रभाव

काठमाडाैं : विश्वभर फोन कल गर्ने चलन घट्दो क्रममा छ, जसलाई इन्टरनेट आधारित अडियो र भिडियो कलहरूले तीव्र रूपमा प्रतिस्थापन गरिरहेका छन्। विशेष गरी मेसेजिङ एपहरू र भिडियो कन्फरेन्सिङ प्लेटफर्महरूले पारम्परिक टेलिफोन कलको आवश्यकता कम बनाएका छन्।

हालैका वर्षमा जर्मनीमा मोबाइल फोन प्रयोगको तरिकामा उल्लेखनीय परिवर्तन देखिएको छ। जर्मनीको फेडरल नेटवर्क एजेन्सीका अनुसार, सन् २०२४ मा जर्मन उपभोक्ताहरूले मोबाइलमार्फत १४५ अर्ब मिनेट कल गरेका थिए, जुन २०२१ को तुलनामा घटेको हो (१६३ अर्ब मिनेट)। त्यसको विपरीत, व्हाट्सएप र सिग्नल जस्ता एपमार्फत अडियो कलिङ १२१ अर्ब मिनेटबाट १९७ अर्ब मिनेटमा पुगेको छ।

भिडियो कलिङको प्रयोग पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०२२ मा १४३ अर्ब मिनेट प्रयोग भएको भिडियो कलिङ २०२४ मा १८४ अर्ब मिनेटमा पुगेको छ। साथै, ल्याण्डलाइन कलहरू २०२० को १०४ अर्ब मिनेटबाट घट्दै २०२४ मा ५७ अर्ब मिनेटमा झरेका छन्।

विश्वव्यापी प्रवृत्ति

जर्मनीमा देखिएको यो प्रवृत्ति विश्वभर दोहोरिँदो देखिन्छ। सन् २०२३ मा, विश्वभर प्रति दिन लगभग १३.५ अर्ब मोबाइल कल गरिएका थिए, जसको वार्षिक योगफल ४९ ट्रिलियन पुग्थ्यो। यद्यपि, यससँगै परम्परागत कलिङको प्रयोगमा गिरावट आएको छ। उदाहरणका लागि, अमेरिकामा २०२१ मा मोबाइल कल मिनेट २४ ट्रिलियन थियो, र बेलायतमा २०२० को १८९.७ अर्ब मिनेट २०२१ मा घटेर १८७ अर्ब मिनेटमा झ¥यो।

भिडियो कन्फरेन्सिङको चाप

Zoom, Microsoft Teams र Google Meet जस्ता भिडियो कन्फरेन्सिङ प्लेटफर्महरूको प्रयोगमा ठूलो वृद्धि भएको छ। Zebracate.ai का अनुसार, २०२४ मा भिडियो कन्फरेन्सिङ बजारको कुल राजस्व १४.२ अर्ब डलर पुगेको छ, जहाँ उत्तर अमेरिका र युरोपले क्रमशः ५.९ र ३.१ अर्ब डलर योगदान गरेका थिए। एशिया–प्रशान्त क्षेत्रमा यसको प्रयोग ३४ प्रतिशतले बढेको छ। बजार हिस्सामा Zoom २८ प्रतिशत, Microsoft Teams २३ प्रतिशत, र Google Meet १७ प्रतिशतमा छन्।

स्मार्टफोन र इन्टरनेटको पहुँच

सन् २०२४ सम्ममा, विश्वभर ७.४ अर्ब स्मार्टफोन प्रयोगमा छन्, जुन कुल मोबाइल फोनको ८७ प्रतिशत हो। भारत जस्ता विकासशील राष्ट्रहरूमा स्मार्टफोनको माग तीव्र रूपमा बढिरहेको छ। डाटा रिपोर्ट अनुसार, ५.३५ अर्ब इन्टरनेट प्रयोगकर्तामध्ये अधिकांश मोबाइल फोनमार्फत इन्टरनेट पहुँच गरिरहेका छन्।

प्रविधिको प्रगति, स्मार्टफोनको व्यापकता र किफायती इन्टरनेट योजनाका कारण परम्परागत फोन कलको सट्टा इन्टरनेटमा आधारित अडियो–भिडियो कल र मेसेजिङ सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। जर्मनीदेखि लिएर भारतसम्म, यो परिवर्तनले सञ्चारको ढाँचालाई नै रूपान्तरण गरिरहेको छ।