

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशभरका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।
बिहान जारी गरिएको सूचनाअनुसार दिउँसो पहाडी भूभागका थोरै स्थान र बाँकी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
राति पनि देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात सम्भावित रहेको छ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको मौसमविद्ले बताएका छन्।
महाशाखाका अनुसार १० मिलिमिटरसम्मको वर्षा हल्का, १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी र १०० मिलिमिटरभन्दा माथि धेरै भारी वर्षा मानिन्छ।
वर्षाको भूगोलसम्बन्धी विवरणमा २५ प्रतिशतभन्दा कम स्थानमा परेको वर्षालाई “एक–दुई स्थान”, २५–५० प्रतिशतसम्मलाई “थोरै स्थान” र ५० प्रतिशतभन्दा बढी क्षेत्रलाई “केही स्थान” मानिन्छ।