

उदयपुर । बिहीबार बिहानदेखि परेको अविरल वर्षापछि आएको बाढीले कटारी नगरपालिका–२, अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा ठूलो क्षति पुर्याएको छ।
सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने सो पुल ‘प्रिस्ट्रेस्ड’ प्रविधिबाट निर्माणाधीन थियो। बाढीले पुल भत्किएपछि क्षतिको अनुमानित मूल्य दुई करोड रुपैयाँ पुगेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए।
“फर्मा र टेका बगाउँदा पुल भत्किएको हो, वास्तविक क्षति प्राविधिक मूल्याङ्कनपछि मात्रै थाहा हुन्छ,” उनले भने।
मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्रै भएको थियो। ढलानपछिको २८ दिनमा मात्र स्टील तार तन्काउनु पर्ने भए पनि त्यसअघि नै बाढीले क्षति पुर्याएको उनले बताए।
पचास मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुलमुनिको ह्युमपाइप थुनिएर पानी जम्दा दबाबले संरचना भत्किएको हो। पुल निर्माणको जिम्मा पाएको सूर्य एन्ड सन प्रालि, धरानले २०७९ असार २९ मा २८ करोड ९९ लाख रुपैयाँमा चारवटा पुल निर्माणको ठेक्का लिएको थियो।
उनका अनुसार पुलको बिमा गरिएकोले अब निर्माण कम्पनीले दाबी पेश गरेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने छ।