डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला

डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला

काठमाडौं, २७ पुस । सरकारले करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट आजबाट खुला भएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिनुभयो ।

घरव्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि पुरानो निर्णयमा पुनर्विचार गरिएको उहाँको भनाइ छ । मन्त्री अर्यालले कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताउनुभयो ।

खेतियोग्य जमिन भए नभएको सुनिश्चित स्थानीय तहले गर्नेछन् । त्यसका लागि स्थानीय तहमा प्राविधिक जनशक्ति पठाइने मन्त्री अर्यालको भनाइ छ ।

कित्ताकाट खुला गर्ने निर्णय अस्थायी भएको सरकारको भनाइ छ । मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई भने कारबाही गर्ने चेतावनी दिनु भएको छ ।