

रोल्पा २८ मंसिर । देशलाई समृद्ध बनाउन राज्य, नागरिक समाज र नीजि क्षेत्र सबै मिलेर आगाडी बढ्नु पर्ने एक कार्यक्रममा बोल्ने वक्ताले बताएका छन । रोल्पाको सदरमुकाम लिवाङमा मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) नेपाल रोल्पाले आयोजना गरेको परिवर्तित सन्दर्भमा जिल्लाका सरोकारवाला र नागरिक समाज, संघ संगठन वीचको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मान बहादुर खत्रीले परिवर्तित समयमा नागरिक समाजसंग सहकार्य गरेर अगाडी बढ्दा सबैलाई सहयोग हुने बताउनुभयो । कार्यक्रममा रोल्पा नगरपालिकाका उप–प्रमुख मन कुमारी घर्तीले नागरिक समाजको लागि स्थानीय तहबाट गर्न सकिने सक्दो सहयोग गर्ने बताउनुभयो ।
सो कार्यक्रममा निमित्त जिल्ला समन्वय अधिकारी डम्बर सुनुवारले देशलाई समृद्ध नेपाल बनाउन वर्तमान समयमा राज्यका सबै तह, नागरिक समाज, नीजि क्षेत्र र संचारकर्मी लागेर अगाडी बढ्न सबैलाई सल्लाह सुझाव दिनुभयो । त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी अनुसा कोइरालाले राज्य, नागरिक समाज र नीजि क्षेत्र मिलेर देशमा सुशासन, पारदर्शिता र समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्ग रोल्पाका अध्यक्ष महेश न्यौपानेले राज्य, नागरिक समाज, नीजि क्षेत्र र मिडिया संगसंगै मिलेर कार्य गर्दा यस परिवर्तित समयमा एक अर्का वीचमा पारस्परिक अन्तर सम्बन्ध स्थापित हुने बताउनु भयो । गैर सरकारी संस्था महासंघ ५ नम्बर प्रदेश सदस्य अर्जुन डिसीले नागरिक समाजसंग सबैले मिलेर काम गर्दा एक अर्कावीचमा विश्वास हुने बाउनुभयो । नेकपाका जिल्ला प्रतिनिधि फबिन्द्र आचार्यले वर्तमान समयमा नागरिक समाजले विगतको जस्तो समस्या खेप्नु नपरेको र सबै पक्ष मिलेर अगाडी बढ्न सुझाव दिनुभयो ।
युएसएआईडी÷एफएचआई ३६० को सहयोगमा हरप्लेस नेपालबाट संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत परिबर्तित सन्दर्भमा जिल्लाका सरोकारवाला र नागरिक समाज, संघ संगठन बिचको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, नीजि क्षेत्र, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, विभिन्न संचारमाध्यममा आबद्ध संचारकर्मी लगायतको उपस्थितिमा गैरसरकारी संस्थाका केन्द्रीय सचिव शोभाराम डाँगीले “परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका” विषयक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
केन्द्रीय सचिव डाँगीले प्रस्तुत गरेको अवधारणा पत्र माथि सहभागीहरु वीचमा सामुहिक छलफल समेत भएको थियो भने कार्यक्रमको संचालन हरप्लेसका जिल्ला अधिकृत ऋषिकेश डाँगीले गर्नु भएको थियो ।