कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना हुनु नै ठूलो उपलब्धि : मन्त्री पोखरेल
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने निश्चित
सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुनु नै ठूलो उपलब्धि भएको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विगतमा राष्ट्रिय प्रतियोगिताहरू काठमाडौंमा मात्रै हुने गरेको उल्लेख गर्दै यसपटक कर्णालीमा आयोजना हुनु महत्वपूर्ण भएको बताए ।
‘पहिले राष्ट्रिय प्रतियोगिताहरू काठमाडौंमै हुन्थे, यसपालि कम्तीमा कर्णालीमा प्रतियोगिता भएको छ,’ उनले भने ।
फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा खेलाउन लागिएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले जुम्लाका नागरिकलाई पनि न्याय हुने गरी एउटा खेलको फाइनल त्यहाँ आयोजना गर्न लागिएको बताए ।
मन्त्री पोखरेलले प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्ने निश्चित भएको जानकारी दिए । उद्घाटनको समय भने मङ्सिर १४ गतेपछि मात्रै टुङ्गो लाग्ने उनको भनाइ छ ।
यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट र समापन प्रधानमन्त्रीबाट गराउने परम्परा थियो ।
मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने दशौँ राष्ट्रिय खेलकुदका खेल भने मङ्सिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । आयोजकका अनुसार उद्घाटन समारोहको मुख्य स्थलमा प्राविधिक पक्षबाहेक अन्य तयारी पूरा भएको छ ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीका लागि आवासलगायत आवश्यक व्यवस्थापनमा कुनै कमी नरहेको आयोजकले दाबी गरेको छ ।
#karnali #sports #surkhet


