विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
१५ सदस्यीय टोलीमा आसिफ, रोहित, कुशल र दीपेन्द्र पनि समेटिए
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
डिसेम्बर ४ देखि २१ सम्म नेपालमै आयोजना हुने प्रतियोगिताका लागि घोषित टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम छन् ।
प्रतियोगितामा नेपालसहित नामिबिया, क्यानडा, संयुक्त अरब इमिरेट्स (यूएई), इटाली, युगान्डा, जर्सी र कुवेत गरी आठ टोली सहभागी हुनेछन् ।
प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछ । प्रतियोगिताको शीर्ष चार टोली सन् २०२७ मा हुने विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् ।
नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।



