गेसोद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

गेसोद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौं, ११ मंसिर । गोर्खा भूतपूर्व सैनिक सङ्घले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो र दोस्रो चरणको आन्दोलनबाट गोर्खालीलाई ब्रिटिस नागरिक सरह अधिकार दिलाउन सफल गेसोको संस्थापक सभापति पदमबहादुर गुरुङले आज पत्रकार सम्मेलन गरी तेस्रो चरणको आन्दोलन घोषणा गर्नु भएको हो ।

ब्रिटिस साम्राज्यवादी सरकारले नेपालको सार्वभौम सत्तामाथि अतिक्रमण गर्दै नेपाल र नेपालीहरूलाई बर्बादी बनाइरहेको बताउँदै आफू नेपालको राष्ट्रिय सार्वभौमसत्ता र प्रतिष्ठाका लागि लड्ने उहाँले बताउनुभयो ।

अबको लडाईँ पूर्व गोर्खा सैनिक जो युद्धमा मारिए, तिनका परिवारलाई क्षतिपूर्ति भराउनका लागि र सार्वभौम देशका नागरिकलाई दोस्रो देशको सैनिकजस्तो गरी संवेदनशील सेवामा लगेर तेस्रो देशबिरुद्ध लड्न पठाउन पाउने कि नपाउने भन्ने विषयमा केन्द्रित रहेको गुरुङले जानकारी दिनुभयो ।