उमेरका आधारमा कैद छुट पाएपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त

उमेरका आधारमा कैद छुट पाएपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त

रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

कैद छुटको समय बुधबार नै पूरा भए पनि आवश्यक प्रक्रिया पूरा गरी बिहीबार बिहान ७ बजे रायमाझी कारागारबाट बाहिरिएका हुन् । उनलाई लिन पुगेका लिला केसीका अनुसार बिहान ६ः४५ बजे कारागार पुगेको टोलीले ७ बजे रायमाझीलाई लिएर निस्किएको थियो ।

‘अहिले सातदोबाटोस्थित घरमा पुगेका छौँ । केही दिन आराम गरेर अर्घाखाँची जाने कुरा हुन्छ होला,’ केसीले नेपाल प्रेससँग भने ।

अर्घाखाँची स्थायी घर भएका रायमाझी सांसद रहेकै बेला पक्राउ परेका थिए ।

डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको हो । तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार कैदबाट मुक्त गरिएको उनले बताए ।

रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो ।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए ।

काठमाडौँ जिल्ला अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यस्तै, एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरूको संलग्नता सार्वजनिक भएपछि यो विषय राष्ट्रिय राजनीतिमा चर्चित बनेको थियो । उक्त प्रकरणमा दोषी ठहर भएका रायमाझीको रिहाइ भने ज्येष्ठ नागरिकका लागि कानुनले व्यवस्था गरेको कैद छुट सुविधाअनुसार भएको हो ।

कारागारबाट रिहा भएपछि परिवार तथा आफन्तले रायमाझीलाई घरमा टीका र मालासहित स्वागत गरेका छन् । जेलमुक्त भएसँगै उनको आगामी राजनीतिक तथा सार्वजनिक भूमिकाबारे पनि चासो बढेको छ ।