

काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) दीपेन्द्र ढकालका अनुसार गम्भीर घाइते भएका १० जनालाई उद्धार गरिएको छ । भीरमा गाडी खसेकाले अन्य यात्रुको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए ।
मकवानपुर प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६, चिसापानी गढी नजिकै दुर्घटना भएको हो । माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।
दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन । गाडीमा करिब १३ देखि १४ जना यात्रु सवार रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।