

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना भएको छ । बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा दुर्घटना भएको हो ।
गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।
दुर्घटनालगत्तै उद्धारका लागि विभिन्न सुरक्षा निकायका टोली घटनास्थलमा खटिएका छन् । इलाका प्रहरी कार्यालय भीमफेदीबाट सात जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाबाट ११ जनाको टोली उद्धारमा खटिएको छ ।
अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाको अवस्था र भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताए ।