रवि लामिछाने र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

रवि लामिछाने र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका विदेश सचिव मिस्रीले बिहीबार रास्वपा सभापति लामिछानेसँग भेट गरेका हुन् ।

भेटका क्रममा सभापति लामिछानेले आफ्नो विगतको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताको शुभकामना व्यक्त गरे । उनले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यस क्षेत्रमा सहकार्यको महत्त्वसमेत औँल्याए ।

भेटवार्तामा लामिछाने र भारतीय विदेश सचिव मिस्रीबीच नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।