दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने

दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने

काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गर्न खोजेको रिट निवेदनमाथि तिहारपछि मात्रै प्रारम्भिक सुनुवाइ हुने भएको छ ।कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीहरूले अध्ययनकै क्रममा रहेकाले बिहीबार निवेदन दर्ता गर्न नसकिएको जानकारी उनका कानुन व्यवसायीहरूलाई गराएका छन् ।

सर्वोच्च अदालतमा निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ । तर, शुक्रबार मात्रै निवेदन दर्ता भएमा त्यसको भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले मुद्दाको प्रारम्भिक सुनुवाइ तिहारपछि मात्रै हुने देखिएको हो ।

सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । तर, कार्कीले मन्त्रिपरिषद्को उक्त निर्णयसम्बन्धी पत्र भने बुझेका छैनन् । आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन् ।