सरकारको काममा रास्वपाले हस्तक्षेप गर्दैन : रवि लामिछाने

सरकारको काममा रास्वपाले हस्तक्षेप गर्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सरकार र पार्टीको कार्यक्षेत्र स्पष्ट रहेको उल्लेख गर्दै सरकारले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनु पार्टीको धारणा रहेको बताएका हुन् ।

सरकार टिकाउन वा पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई कुर्सीमा राखेर काम गर्ने राजनीतिक अभ्यास आफूहरूको नभएको उनको भनाइ छ ।

‘राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जतिबेला सरकार नै टिकाउनका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सीमा राखेर गर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘एब्सुलुट काम पार्टीले गर्छ । कहिलेकाहीँ प्रश्न आए, जिज्ञासा रहे, स्पष्टता चाहिए हामी बस्छौँ, कुराकानी गरिराख्छौँ ।’

लामिछानेले सरकार र पार्टीबीच समन्वयको कुनै कमी नरहेको दाबी गर्दै दुवै पक्षले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए । सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व वा टकराव नरहेको उनको भनाइ छ ।

‘हामी धेरै भेट गरिरहन्छौँ । समन्वयको कुनै पनि कमी छैन । खाली एउटै चिज के हो भने सरकारलाई मज्जाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने ।

उनले कुनै पनि संस्थाबाट गल्ती भए त्यसलाई सच्याउने संवैधानिक तथा संस्थागत संयन्त्र रहेको उल्लेख गर्दै प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता संस्थामाथि विश्वास गर्दै तिनलाई थप बलियो बनाउनुपर्ने धारणा राखे । सरकारले परिपक्व ढंगले अघि बढ्दै विधिको शासनअनुसार काम गर्नुपर्नेमा जोड दिँदै लामिछानेले सरकारको कार्यशैलीमाथि प्रश्न उठ्ने अवस्था नै आउन नदिन जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।