

काठमाडौं, ८ मंसिर । गएराति तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शोक मनाउन भोलि सप्तरीका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको आज विहान राजविराजमा बसेको बैठकले शोक मनाउन स्थानीय तहका कार्यालय एक दिन बन्द गर्ने निर्णय गरेको हो ।
डाकनेश्वरी नगरपालिकाले मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार २५ हजार उपलब्ध गराउने निर्णय पनि गरेको समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिनुभयो ।
सप्तरीमा ९ नगरपालिकासहित १८ स्थानीय तह छन् । मृतक र घाइतेको सहयोगका लागि स्थानीयले करिब ४५ हजार चन्दा संकलन गरेका छन् । सुनसरीको बराह क्षेर र चतराधाम दर्शन गरेर फर्किने क्रममा को १ ख २७९९ नम्बरको बस सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित इनरुवा चौक नजिकै दुर्घटना हुदा ५ जनाको मृत्यु भएको थियो ।