

काठमाडौं । कप्तान सन्दीप लामिछानेसहित बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। मलेसियाको वाईएसडी–यूकेएम ओभलमा सोमबार सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि अर्जुन कुमालले अविजित ३६ तथा रोहित पौडेलले नटआउट १९ रन बनाए। अर्जुनले ५८ बलमा पाँच चौका प्रहार गरे भने रोहितले १४ बलमा एक चौका र एक छक्का प्रहार गरे।
नेपालका तीन विकेटमध्ये दुई इमरान जावेदले लिए भने एक विकेट रनआउटका रूपमा गुम्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। बहराइनको इनिङ्स ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै १० ओभरमा १४ रन खर्चेर पाँच विकेट लिए। ललित राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सन्दीपले आफ्नो पहिलो ओभरकै पहिलो बलमा विकेट लिएका थिए। त्यही ओभरको चौथो बलमा अर्को विकेट लिएर उनले बहराइनमाथि सुरुदेखि नै दबाब सिर्जना गरेका थिए। त्यसपछि पाँचौँ, सातौँ र आठौँ ओभरमा थप एक–एक विकेट लिँदै उनले पाँच विकेट पूरा गरे। जितसँगै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। नेपालले अब बिहीबार आयोजक मलेसियासँग दोस्रो खेल खेल्नेछ।