

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत नेपालले बहराइनसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा जारी खेलमा बहराइनले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको हो। एकदिवसीय क्रिकेटमा नेपालसँग पहिलोपटक खेलेको बहराइनका लागि फियाज अहमदले १५, मुहम्मद वसिमले १३ तथा अली दाउदले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बहराइनको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। उनले १० ओभरमा चार मेडन राख्दै मात्र १४ रन खर्चिए।
त्यस्तै ललित राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए। अब नेपालले ८८ रनको लक्ष्य पछ्याउँदै प्रिमियर कपमा विजयी सुरुवात गर्ने लक्ष्यसहित दोस्रो इनिङ्स खेल्नेछ।