एसिसी प्रिमियर कप आजदेखि, एसिया कपमा पुग्ने लक्ष्यसहित नेपाल मैदानमा

एसिसी प्रिमियर कप आजदेखि, एसिया कपमा पुग्ने लक्ष्यसहित नेपाल मैदानमा

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ को एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ।

नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’मा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले प्रतियोगिताको पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने उक्त खेल ५० ओभरको हुनेछ। ५० ओभरको क्रिकेटमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। मलेसियाविरुद्ध पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ। प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा समेत नेपालले मलेसियालाई हराएको थियो।

प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो खेल हुनेछ। सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

त्यसपछि नेपालले भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग खेल्नेछ। नेपाल र साउदीबीच हालसम्म भएका दुई खेलमा नेपालले एक जितेको छ भने अर्को खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङसँग भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसिसी)का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। यसपटक प्रिमियर कपको विजेताले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

नेपाल पहिलो संस्करणको प्रिमियर कपको विजेता हो। सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

नेपाली टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताएका छन्। प्रतियोगिताअघि भारतमा प्रशिक्षण तथा मलेसियामा अभ्यास खेलको अवसर पाएकाले टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ।

चौधरीका अनुसार देव खनाल, आसिफ शेख र अर्जुन कुमाललगायत खेलाडीले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका छन्। नेपालको बलियो पक्ष बलिङ रहेको उल्लेख गर्दै उनले प्रतियोगितामा ओमान र युएई प्रमुख प्रतिस्पर्धी हुने बताए।

मलेसियाको पिचमा अभ्यास खेल खेलिसकेकाले नेपाली खेलाडी केही हदसम्म त्यहाँको वातावरणमा अभ्यस्त भइसकेको र यसले विदेशी भूमिमा हुने प्रतियोगितामा सहयोग पुग्ने चौधरीको विश्वास छ।