यमपञ्चकको दोस्रो दिन, कुकुर तिहार मनाइँदै

यमपञ्चकको दोस्रो दिन, कुकुर तिहार मनाइँदै

काठमाडौं, २० कार्तिक । यमपञ्चकको दोस्रो दिन आज आज्ञापालक र भरपर्दो रक्षकका रूपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुरलाई मीठो खानेकुरा दिने र माला लगाइ पूजा गर्ने प्रचलन छ ।

यमराजको द्वारपालको रूपमा श्याम र सवल नामक कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन् भन्ने परम्परागत मान्यता छ । वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा पाइन्छ । समाजमा प्रतिष्ठा कायम राख्न पनि राम्रा, आकर्षक र महङ्गा कुकुर पाल्ने र प्रभातकालीन समयमा कुकुर डोर्याउँदै यत्रतत्र यात्रा गर्ने सहरबजारमा सोखको रुपमा पाइन थालेको छ । शत्रु र मालिकको सहजै पहिचान गर्ने क्षमता कुकुरमा हुन्छ भनिन्छ ।

पशुपतिस्थित चुनचुन बाबाको आश्रममा पालिएका कुकुरलाई आजका दिनमा उत्सवका साथ पूजन गरिँदैछ र आर्यघाटमा नर्क बगाउने व्यवस्था गरिएको छ । नदी खोला त्रिवेणी दोभान वा जलाशययुक्त स्थानमा स्नान गरेर माटो जरासहितको अपमार्गको विरुवा टाउकोमा तीन पटक घुमाएर खोलामा बगाई नर्क बगाउने प्रचलन पनि छ ।