

काठमाडौं । असार ५ गते नेपाल प्रवेश गरेयता कमजोर अवस्थामा रहेको मनसुन अब क्रमशः सक्रिय हुन थालेको छ। मनसुनको प्रभाव बढेसँगै आगामी कम्तीमा तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार गएरातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।
उनका अनुसार अब कम्तीमा तीन दिनसम्म वर्षाको क्रम जारी रहने सम्भावना छ। अहिले पनि काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भइरहेको र दिनभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको उनले बताए।
‘केही समय मौसम खुलेजस्तो देखिए पनि फेरि बादल लाग्नेछ र दिउँसोपछि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,’ पुडासैनीले बताए।
हाल मनसुन सबैभन्दा बढी सक्रिय कोशी प्रदेशमा रहेकाले त्यहाँका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले मनसुन कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ। देशका बाँकी क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
मौसमविद्का अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। त्यससँगै देशभर वर्षाको गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी तथा खोलानालामा आउने आकस्मिक बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित रूपमा जानकारी लिन आग्रह गरेको छ।