

म्याग्दी । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामै सात लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका छन्। म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी–जोमसोम सडकमार्फत मुस्ताङ प्रवेश गर्ने पर्यटकको सङ्ख्या गत आर्थिक वर्षभरिको आगमन सङ्ख्यासरह पुगेको हो।
मुस्ताङको घाँसास्थित सीमा प्रहरी चौकीको तथ्याङ्कअनुसार साउनदेखि जेठ मसान्तसम्म ७ लाख ५ हजार ७५४ पर्यटक मुस्ताङ पुगेका छन्। यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनामा मुस्ताङ भ्रमण गर्ने ७ लाख ५ हजार ७७९ पर्यटकको लगभग बराबर हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार ११ महिनाको अवधिमा १ लाख ५१ हजार १६० सवारीसाधनमार्फत ४ लाख ६० हजार ९२४ स्वदेशी तथा २ लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
पर्यटक आगमन सबैभन्दा बढी जेठ महिनामा भएको छ। उक्त महिनामा मात्रै २७ हजार ४८८ सवारीसाधनमार्फत १ लाख ३१ हजार ७७७ पर्यटक मुस्ताङ पुगेका थिए। तीमध्ये ९० हजार ९३९ विदेशी र ४० हजार ८३८ स्वदेशी पर्यटक रहेका छन्।
गर्मी याममा भारतीय पर्यटकको आकर्षण बढ्नु, लगातार सार्वजनिक बिदा पर्नु तथा मौसम अनुकूल रहनुले मुस्ताङमा पर्यटकको चाप उल्लेखनीय रूपमा बढेको हो। प्रहरीका अनुसार मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकमध्ये करिब ८० प्रतिशत भारतीय नागरिक छन्।
पर्यटकको बढ्दो आवागमनका कारण बेनी–जोमसोम सडकखण्डका बेनी, गलेश्वर, तातोपानी र दाना क्षेत्रका होटल तथा पर्यटन व्यवसायसमेत व्यस्त बनेका छन्। विशेषगरी वैशाख र जेठ महिनामा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ।
धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध मुस्ताङ नेपाली तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। मुक्तिनाथ मन्दिर दर्शन, कागबेनीमा श्राद्ध तथा तर्पण, कोरला नाका र लोमान्थाङको अवलोकनका साथै हिमाली सौन्दर्य, मौलिक संस्कृति र जीवनशैलीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
पृथक भूगोल, जैविक विविधता, प्राचीन कला–संस्कृति तथा हिमाली सभ्यताका कारण मुस्ताङको पर्यटन क्षेत्र वर्षेनी विस्तार हुँदै गएको सरोकारवालाहरूको भनाइ छ।