

काठमाडौँ । कोसी प्रदेश सभामा नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहित विपक्षी दलहरूले बुधबार पनि सदन अवरुद्ध गरेका छन् । संशोधन प्रस्ताव हाल्न नदिएको आरोप लगाउँदै विपक्षी सांसदहरूले सदन घेराउ गर्नुका साथै पोडियममै पुगेर विरोध जनाएका छन् ।
कार्य व्यवस्था तथा परामर्श समितिमा नीति तथा कार्यक्रम पारित गरेर जाने सहमति भए पनि मंगलबारको बैठकमा संशोधन राख्न नदिएको भन्दै विपक्षीले असन्तुष्टि जनाएका थिए । त्यसैको निरन्तरता स्वरूप बुधबार पनि सदन अवरुद्ध गरिएको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङ ले जेठ ७ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्की ले जवाफ दिएका थिए । त्यसपछि सभामुख अम्बरबहादुर विष्ट ले कार्यक्रम निर्णायक मतदानमा लगेका थिए ।
मत विभाजनपछि ‘हुन्छ’ भन्ने पक्षका सांसद मात्र पक्षमा देखिएपछि विपक्षी सांसदहरूले नियम मिचिएको आरोप लगाउँदै सदन अवरुद्ध गरेका थिए । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ले संशोधन प्रस्ताव हाल्न समय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
त्यसपछि जसपाकी संसदीय दल नेता निर्मला तावा लिम्बु लाई बोल्न समय दिइएको थियो । तर विपक्षी सांसदहरूले सदन घेराउ गर्दै प्रदर्शन चर्काएका थिए ।
यसै क्रममा पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राई रोष्ट्रममा पुगेर माइकसमेत भाँचिदिएको आरोप छ ।
सभामुखले नियमअनुसार प्रक्रिया अघि बढाइएको दाबी गरे पनि विपक्षीले त्यसलाई अस्वीकार गर्दै विरोध जारी राखेका छन् । कार्यव्यवस्था समितिको निर्णयविपरीत प्रक्रिया अघि बढाइएको सत्ता पक्षको भनाइ छ भने विपक्षीले संशोधन अधिकार कुण्ठित गरिएको आरोप लगाएका छन् ।
लगातारको तनावपछि प्रदेश सभा बैठक करिब आधा घण्टाका लागि स्थगित गरिएको छ ।