‘अज्ञात’मार्फत् इतिहासका गुमनाम पात्रहरूको कथा उजागर

‘अज्ञात’मार्फत् इतिहासका गुमनाम पात्रहरूको कथा उजागर

काठमाडौं । नेपालको इतिहासमा प्रायः राजा, महाराजा र सेनानायकहरूको वीरगाथा मात्र केन्द्रमा रहने गरेको छ। तर ती युद्धहरूमा आफ्नो जीवन दाउमा लगाउने असंख्य गुमनाम पात्रहरूको कथा भने ओझेलमै पर्ने गरेको छ। यिनै अज्ञात पात्रहरूको जीवन, संघर्ष र पीडालाई उजागर गर्ने प्रयास गरेका छन् पद्मश्री साहित्य पुरस्कार विजेता लेखक केशवराज ज्ञवालीले आफ्नो दोस्रो कृति अज्ञातमार्फत्।

सोमबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा मदन पुरस्कार विजेता लेखक मोहन मैनालीसँगै ज्ञवालीले आफ्नो नयाँ उपन्यास सार्वजनिक गरेका हुन्।

लोकार्पण समारोहमा बोल्दै ज्ञवालीले गोर्खा राज्य विस्तारको इतिहास केवल भूगोलको विस्तार नभई मानिसहरूको संघर्षको कथा भएको बताए। इतिहास लेखनमा सधैं सेनानायक र शासकहरूको चर्चा हुने तर आम मानिसहरू ओझेलमा पर्ने प्रवृत्तिलाई तोड्ने प्रयास स्वरूप ‘अज्ञात’ लेखिएको उनको भनाइ थियो।

उपन्यास लेखनका लागि आफूले केवल कल्पनामा निर्भर नभई ऐतिहासिक तथ्यहरूको गहिरो अध्ययन र स्थलगत भ्रमणसमेत गरेको उनले बताए। उनका अनुसार यो कृति तथ्यका आधारमा त्यो समयको यथार्थसम्म पुग्ने प्रयास हो।

उपन्यासको केन्द्रमा ‘मन्या’ नामक पात्र रहेको छ, जो कमारो जीवन बाँच्न बाध्य छ। बाबुको खोजीमा निस्किएको उसको यात्रा युद्ध, विस्थापन र मानवीय पीडासँग जोडिँदै नालापानीको युद्धसम्म पुग्छ। इतिहासमा अङ्ग्रेजी जनरल जिलेस्पीको मृत्युको प्रसंगसँग जोडिएको यो कथा, युद्धमा लड्ने साधारण मानिसहरूको मनोदशा र दृष्टिकोणलाई प्रस्तुत गर्न खोज्छ।

पुस्तकमाथि टिप्पणी गर्दै मोहन मैनालीले ‘अज्ञात’लाई उपन्यास मात्र नभई इतिहासका विद्यार्थीका लागि समेत उपयोगी कृति भएको बताए। विशेषगरी उपन्यासमा प्रयोग गरिएका ‘फुटनोट’हरूले पाठकलाई थप सन्दर्भ बुझ्न सहयोग गर्ने उनको धारणा थियो।

फाइनप्रिन्टले प्रकाशन गरेको यस कृतिले युद्धको निरर्थकता र त्यसबीच पलाउने प्रेमलाई संवेदनशील ढंगले चित्रण गरेको छ। ‘अज्ञात’ केवल युद्धको कथा होइन, इतिहासका गुमनाम पात्रहरूको दृष्टिबाट लेखिएको सशक्त वैचारिक अभिव्यक्ति पनि हो।