नीलम कार्की निहारिकाको ‘राजमाता’ उपन्यास सार्वजनिक

नीलम कार्की निहारिकाको ‘राजमाता’ उपन्यास सार्वजनिक

काठमाडौँ । उपन्यासकार नीलम कार्की निहारिका को नयाँ कृति ‘राजमाता’ सार्वजनिक भएको छ। आइतबार नेपाल पर्यटन बोर्ड को सभाहलमा आयोजित कार्यक्रममा उक्त उपन्यास लोकार्पण गरिएको हो।

कार्यक्रममा संस्कृतिविद् प्राडा वीणा पौडेलले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै इतिहासलाई आधार मानेर लेख्ने महिला साहित्यकार नेपालमा निकै कम रहेको बताइन्। उनले ‘राजमाता’ले इतिहासको एक महत्वपूर्ण पाटोलाई दस्तावेजीकरण गरेको उल्लेख गर्दै दसौँ शताब्दीको सांस्कृतिक जीवनशैलीलाई जीवित रूपमा प्रस्तुत गरेको धारणा राखिन्।

लेखक कार्कीका अनुसार ‘राजमाता’ लेखन सन् २०१९ बाट सुरु गरिएको थियो। कोरोना महामारीका कारण केही समय लेखन प्रक्रिया अवरुद्ध भए पनि अन्ततः कृति प्रकाशन गर्न सफल भएको उनले बताइन्। “त्रासपूर्ण अवस्थाले भावनामा असर पारे पनि अहिले पुस्तक सार्वजनिक गर्न पाउँदा यो मेरो जीवनको अमूल्य क्षण बनेको छ,” उनले भनिन्।

उपन्यास फाइन प्रिन्ट ले प्रकाशन गरेको हो।

मदन पुरस्कार विजेता साहित्यकार कार्कीले यसअघि ‘योगमाया’ उपन्यासका लागि २०७४ सालको मदन पुरस्कार प्राप्त गरेकी थिइन्। ऐतिहासिक विषयवस्तुमा रुचि राख्ने उनले हालसम्म छ उपन्यास, तीन कथासंग्रह, एक लामो कथा र एक कविता संग्रह प्रकाशित गरिसकेकी छन्। अमेरिकामा बसोबास गर्दै आए पनि उनी साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएकी छन्।