सुन्तलाबाट २० लाख आम्दानी, कृषि पर्यटनतर्फ विस्तारको योजना

सुन्तलाबाट २० लाख आम्दानी, कृषि पर्यटनतर्फ विस्तारको योजना

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका श्रेष्ठले जिल्लामै सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाभन्दा झण्डै दोब्बर मूल्य पाएका हुन्।

उनले सञ्चालन गरेको ‘अन्नपूर्ण फलफूल तथा तरकारी फार्म’बाट प्रतिकिलो २०० रुपैयाँका दरले काठमाडौंका व्यापारीले सुन्तला खरिद गरेका थिए। म्याग्दीमा पुस महिनामा सुन्तला प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको थियो। श्रेष्ठका अनुसार माघ लागेदेखि मूल्य बढ्न सुरु भई फागुन २ गतेसम्म प्रतिकिलो २०० रुपैयाँसम्म पुगेको थियो।

गत वर्षको तुलनामा यसपटक उत्पादन ४० प्रतिशतले घटे पनि मूल्य राम्रो पाउँदा आम्दानीमा असर नपरेको उनले बताए। गत वर्ष उनले प्रतिकिलो औसत १०० रुपैयाँका दरले १५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका थिए। बगैँचामा रहेका ७०० बोटमध्ये यस वर्ष ३०० बोटमा मात्र फल लागेको थियो।

श्रेष्ठले आफ्नो उत्पादन बाहेक अन्य किसानको थप १ करोड ३० लाख रुपैयाँ बराबरको सुन्तलाको बिक्री व्यवस्थासमेत मिलाएका छन्। दोसल्लेका ४२ घरपरिवार किसानले यस वर्ष करिब २ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको दोसल्ले सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए।

बेनीमा पोल्ट्री तथा घरजग्गा व्यवसाय गर्दै आएका श्रेष्ठले विसं २०७६ मा सोखका लागि गाउँमा घर बनाएर बस्ने उद्देश्यले किनेको भिरालो पाखोबारी अहिले हराभरा बगैँचामा परिणत भएको छ। घेराबार, गरा निर्माण, खाडल खनेर बिरुवा रोप्ने, मलजल, संरचना निर्माण तथा जग्गा खरिदसहित फार्ममा करिब ३ करोड ५० लाख रुपैयाँ लगानी भएको उनले बताए।

“कृषिबाट यति राम्रो आम्दानी होला भन्ने सोचेको थिइनँ,” श्रेष्ठले भने, “गर्न सके सम्भव हुँदो रहेछ भन्ने अनुभव गरेँ। अब थप जमिन खरिद गरेर फार्म विस्तार गर्दैछु।”

उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन्। सुन्तलाखेतीसँगै लोकल र बोइलर जातका कुखुरा पनि पालिएको छ। कुखुराको सुली सुन्तलाका लागि उपयोगी मल हुने उनको अनुभव छ। हालसम्म सरकारी निकायबाट अनुदान नलिएको उनले बताए।

काठमाडौंको बल्खुस्थित व्यापारीसँग सिधैँ सम्पर्क गरी सुन्तला बिक्री गर्न थालेपछि उचित मूल्य र सुनिश्चित बजार पाएको श्रेष्ठको भनाइ छ। उनले बेनीस्थित ‘जलेश्वर पोल्ट्री फर्म’को जिम्मेवारी छोरा आदेशलाई सुम्पेर आफू पूर्ण रूपमा कृषि व्यवसायमा सक्रिय भएका छन्।

अवसर र रोजगारीका लागि गाउँ छोड्ने प्रवृत्ति बढिरहेको अवस्थामा बजारबाट गाउँ फर्किएर कृषि उद्यम थालेका श्रेष्ठलाई स्थानीय अगुवा किसान खगवीर पाइजाले उदाहरणीय पात्रका रूपमा चित्रण गरेका छन्। उनका अनुसार श्रेष्ठले बाँझिएको जग्गाको सदुपयोग मात्र नगरी नयाँ प्रविधि भित्र्याएर अन्य किसानलाई पनि प्रेरित गरेका छन्।

हाल सुन्तलाखेतीका लागि जग्गा किन्न आउनेहरूको संख्या बढेको र खेतबारीको भाउसमेत उकालो लागेको बताइएको छ। श्रेष्ठको बगैँचा अवलोकन गर्न बेनी तथा आसपासबाट किसान र व्यवसायी आउने गरेका छन्। बगैँचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ।

बगैँचाको बीच भागमा पाहुना तथा आफ्नै बसोबासका लागि घर निर्माण गरेका श्रेष्ठले फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना बनाएका छन्। समुद्री सतहदेखि करिब १,५०० मिटर उचाइमा रहेको दोसल्लेका किसानले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाउँदै आएका छन्।