काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले जितसहित प्रतियोगिताको सुरुवात गरेको छ। उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गर्दै विजयी यात्रा प्रारम्भ गरेको हो।
१४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। एक समय खेल नेदरल्यान्ड्सको पक्षमा जाँदै गरे पनि अन्त्यमा फहिम अशरफले उत्कृष्ट ब्याटिङ गर्दै पाकिस्तानलाई जित दिलाए। ११ बल खेलेका फहिमले तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन बनाए।
पाकिस्तानका लागि साहिवजादा फरहानले ४७ रनको योगदान दिए भने साइम अयुवले २४, बाबर आजमले १५ र सलमान अघाले १२ रन जोडे।
नेदरल्यान्ड्सका बलरमध्ये आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए। रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट हात पारे।
यसअघि श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भयो।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट इडवार्ड्सले ३७ रन बनाए भने बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यानले २० र आर्यान दत्तले १३ रन जोडे। इडवार्ड्स आउट भएपछि नेदरल्यान्ड्सको इनिङ धराशायी बनेको थियो।
पाकिस्तानका बलरमध्ये सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट झारे। साहिन शाह अफ्रिदीले एक विकेट हात पारे।





