नाडाको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

नाडाको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्। नाडाको निर्वाचन तालिकाअनुसार तोकिएको समयभित्र अध्यक्ष पदका लागि उप्रेतीको मात्र उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन्।

स्पेयर पार्ट्स व्यवसायी उप्रेती यसअघि नाडाको महासचिवको जिम्मेवारीमा थिए। उनी सिएट टायरको आधिकारिक वितरक एसटीसी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन्।

नाडाको केन्द्रीय कार्यसमितिका सदस्यहरूको निर्वाचन यही पुस २५ गतेका लागि तय गरिएको थियो। प्रदेश सदस्य पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् भने साधारण सदस्य पदमा १७ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणमा उम्मेदवारी जाँच, छानबिन र टुङ्गो लगाइएपछि नाडाको कार्यकारिणी समिति सर्वसम्मत रूपमा निर्वाचित भएको जनाइएको छ।