२५ सय खसी दशैँकालागि काठमाडौँ ल्याइँदै

२५ सय खसी दशैँकालागि काठमाडौँ ल्याइँदै

बाँके, १९ असोज । यहाँका उद्यमी महिलाले पालेका दुई हजार ५०० खसी आगामी दशैँका लागि काठमाडाैँ पठाउने तयारी गरेका छन् ।

कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौँ पठाउन लागिएको हो । काठमाडौँका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौँ पठाइने सङ्घका अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो ।

भारतबाट ल्याएका खसीको तुलनामा यहाँका महिलाले पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँलगायत शहरमा माग बढ्दो छ । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौलेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ । पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिलाले अहिले थोकमा बिक्री गर्न थालेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था फत्तेपुरका व्यवस्थापक विद्या गुरुङले बताउनुभयो । गाउँमा समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी जिल्ला सङ्घले गर्दै आएको छ । यस वर्षको दशैँका लागि भारतबाट खसी कम आएको पशु क्वारेन्टाइन चेकपोष्ट नेपालगञ्जले जनाएको छ । रासस