

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान वरिपरि सक्रिय रहनुका साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली छ भने बाँकी भागमा आंशिक बदली रहेको छ। बागमती र सुदूरपश्चिमका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिनभर देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा हुन सक्ने सम्भावना भएकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारणलाई सचेत रहन र पछिल्लो मौसमी सूचना पालना गर्न महाशाखाले आग्रह गरेको छ।