

विराटनगर । नेपाली क्रिकेट टोलीका बलर ललित राजवंशीले जनता आवास कार्यक्रम अन्तर्गत दिने भनिएको घर नलिने बताएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू परिवारसहित बस्न सक्ने घर बनाउन सक्षम भएको बताउँदै सरकारले यो सुविधा वास्तविक विपन्नलाई उपलब्ध गराउनुपर्ने आग्रह गरे। उनले भने, “म यसैपालि घर बनाउन योजनामा थिएँ, तर आमाको निधनका कारण बन्न सकेन।”
राजवंशीले सरकारले सहानुभूति स्वरूप सहयोग गर्ने हो भने स्वीकार गर्ने तर आफ्नै नाममा आउने घर भने नलिने प्रष्ट पारे। विराटनगरमा उनको परिवारसँग करिब एक विगाह जग्गा रहेको छ।
उनकी आमा शुभकुमारी राजवंशीको निधनपछि श्रद्धाञ्जली दिन पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले जनता आवास कार्यक्रममार्फत राजवंशीलाई घर बनाइदिने घोषणा गरेका थिए। तर राजवंशीले यो सहयोगलाई विपन्न परिवारलाई दिनुपर्ने बताइएपछि उनको निर्णयको व्यापक प्रशंसा भइरहेको छ।