

काठमाडौं । देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको हुँदा वर्षा गतिविधि सामान्य रूपमा घटेको छ। यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षा सम्भावना भने कायम रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यस क्रममा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भाग र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहितका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा गण्डकीका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने, ठूला तथा साना नदी–नाला र खोलाहरूमा पानीको सतह उक्लन सक्ने तथा यातायात क्षेत्रमा अवरोध आउन सक्ने चेतावनी दिएको छ। साथै सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।