

काठमाडौं । हाल देशभर मनसुन सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ तराई भेगमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाको भनाइ छ ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदली छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागहरूमा, साथै अन्य पहाडी क्षेत्रहरूमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेश र अन्य तराई क्षेत्रका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।
महाशाखाले आगामी २४ घण्टासम्म मौसम परिवर्तनशील रहने भएकाले अद्यावधिक जानकारीको लागि नियमित रुपमा पछिल्लो मौसमी बुलेटिन हेर्न आग्रह गरेको छ ।