

काठमाडौं । देशभर मनसुनी वायुको सक्रियता कायम रहेकाले अधिकांश भागमा बदली मौसम देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्र नजिक सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले वर्षाको प्रभाव देखिएको हो ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ भने धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना छ । विशेषगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि मौसम बदली नै रहनेछ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।