

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसको विधान मस्यौदा समितिले सुझाव संकलन गर्न सात प्रदेशका १२ ठाउँमा दुई दिने भेला गर्ने भएको छ। उपसमितिहरूको प्रतिवेदन र पार्टीका शीर्ष नेताहरूको सुझावपछि एकीकृत मस्यौदा बनाइरहेको समितिले आगामी ८ देखि १३ असोजसम्म प्रदेशस्तरीय भेला गर्ने भएको हो।
समितिले असोज ८ र ९ गते काठमाडौं, इलाम र सुर्खेतमा, ९ र १० गते पोखरा, बुटवल र जनकपुरमा तथा ११ र १२ गते काभ्रे, धनगढी र विराटनगरमा सुझाव संकलनका लागि भेला गर्ने तयारी समितिले गरेको छ। समितिले १२ र १३ गते वीरगन्ज, दाङ र बाग्लुङमा भेला गर्ने जनाएको छ। यसअघि समितिले १५ असोजमा अन्तिम मस्यौदा तयार पारिसक्ने बताएको थियो। १३ असोजसम्म प्रदेशस्तरीय भेला हुने भएकाले अब १५ असोजमै समितिले अन्तिम मस्यौदा तयार पार्न नसक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।
कांग्रेसका प्रदेश समितिको आकार सातै प्रदेशमा फरक हुने सम्भावना देखिएको छ। सम्बन्धित प्रदेशका पार्टीका जिल्ला सभापति पदेन सदस्य हुने, समानुपातिक क्लस्टरका आधारमा संख्या थपघट हुने र जनसंख्याका आधारमा संख्या तय गरिने भएकाले प्रदेश समितिको संख्या फरक फरक हुने मस्यौदा समितिले जनाएको छ। प्रदेश समिति बढीमा ९० सदस्यीय र घटीमा ३५ सदस्यीय हुनसक्ने नेताहरूले बताएका छन्। प्रदेशको जनसंख्या, समानुपातिक क्लस्टर र प्रदेशका जिल्लाको संख्याले पनि समितिको आकारमा फरक पार्ने देखिएको छ। समितिले शीर्ष नेताहरूको सुझाव र सातै प्रदेशमा हुने भेलाबाट आउने सुझावका आधारमा अन्तिम मस्यौदा बनाउनेछ। यो खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।